यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो ।

हरेक वर्ष रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने, अनावश्यक मानिसले हुलहुज्जत गर्ने, रथबाट खसेर वा रथको टायरमा च्यापिएर मृत्यु हुनेलगायत घटनाले ऐतिहासिक जात्राको महत्वमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि यसवर्ष जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गराउन सबै सरोकार निकाय लाग्ने भएका हुन् । जात्राको पहिलो दिन चैत २७ गते भैरवको रथमा पूजा दिउँसो १ बजेसम्म गरी रथ तान्ने र अपरान्ह ५ बजेसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका बनाइएको छ ।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्रालाई व्यवस्थित र मर्यादितरूपले सम्पन्न गर्न नगरपालिकाले आवश्यक तयारी गरेको बताउनुभयो । उहाँले सरोकारवाला अन्य निकाय तथा पदाधिकारीले पनि आ–आफ्ना जिम्मेवारी समयमै इमान्दारिपूर्वक पूरा गर्नु पर्नेमा जोड दिनुभयो ।