तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गर्नुभयो । पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो ।

दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले दाङ ठूलो उपत्यका भएको र चुरे महाभारत शृङ्खला पनि रहेकाले हिलस्टेशनका रूपमा अघि बढाउन पनि सकिने बताउनुभयो ।

उहाँले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पु¥याउन सकिने योजनाबारे पनि चर्चा गर्नुभयो । पत्रकारको एक प्रश्नको जवाफमा मुख्यमन्त्री गिरीले आफूले विश्वासको मत नपाए संसद्को ठूलो दलले मुख्यमन्त्री पाउने बताउनुभयो ।

मुख्यमन्त्री गिरीले केही समयमै विश्वासको मत लिने बताउनुभयो । गत चैत १२ गते माओवादीलगायत दलले उहाँलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूलाठूला घर बनाएर बेचबिखनका काम भइरहेको बताउनुभयो । उहाँले ती घर छोडाउनका लागि बारम्बार भनिए पनि सम्बद्ध व्यक्तिले अटेर गरेकाले जग्गा खाली गराएरै छोडिने जानकारी गराउनुभयो ।
अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर नतिरेको र भाडा पनि नदिएकाले त्यस्ता व्यक्तिलाई सम्मान गर्न नसकिने उल्लेख गर्दै उपमहानगर प्रमुख खड्काले मिचिएका घर खाली गराएर जग्गा भाडामा दिइ आम्दानी लिने तयारी रहेको उल्लेख गर्नुभयो । रासस