राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५÷२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ ।

स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको पत्रलाई सेमत बेवास्ता गर्दै संरचना निर्माण गरिरहेको पाइएको छ । निजी घर निर्माण गर्दा २५ मिटर मापदण्ड छाडेर निर्माण भइरहे पनि नेपाली सेनाले लोकमार्गको नालीसँगै जोडेर पक्की पिलरसहितको पर्खाल धमाधम निर्माण गरिरहेको छ ।

घरटहरा वा पक्की संरचना बनाउनुपर्दा स्थानीय तहमा दर्ता गरेर बनाउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहे पनि सेनाले एकलौटी ढङ्गबाट संरचना बनाइरहेको छ । सडकछेउमा बनाउने पक्की संरचनाका लागि सडक सीमाको मापदण्ड पालना गर्नुपर्ने र छुट्टै अनुमति पनि लिनुपर्ने भए पनि नेपाली सेनाले मध्यपहाडी लोकमार्गसँग समेत अनुमति नलिइ पक्की संरचना बनाइरहेको छ ।

हाल कार्यान्वयनको चरणमै रहेको मध्यपहाडी लोकमार्गको मापदण्डविपरीत कसैले अवैध संरचना बनाउन नपाइने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । लोकमार्ग आयोजना कार्यालयका आयोजना प्रमुख नारायणदत्त भण्डारीले अस्थायी संरचना (तारजाली) लगाउनका लागि आयोजना कार्यालयमा जानकारी दिएकामा अहिले पक्की संरचना बनाइरहको बताउनुभयो ।