तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीको नाम प्रदेशस्तरमा पठाइने खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।
बुधबार मात्रै दमौली बजारमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाए । जिल्लामा बास्केटबल प्रतियोगिता आयोजना भएको पहिलो पटक हो ।
जिल्लामा केही समययता खेलकुदका गतिविधि बढ्न थालेको छ । खेलकुदका गतिविधि सञ्चालन भइरहँदा खेलाडीले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका छन् । जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष पाण्डे खेलकुदका गतिविधि वृद्धि हुनु सकारात्मक रहेको बताउनुहुन्छ । “जिल्लामा खेलकुदका कार्यक्रम सञ्चालन हुनु राम्रो कुरा हो, खेलकुदका कार्यक्रम सञ्चालन भइरहँदा खेलाडीले क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्”, पाण्डेले भन्नुभयो । रासस