सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल सात हजार तीन सय ७६ घटनामध्ये महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी चार हजार दुई सय २८ जना पीडित देखिएको छ ।
इन्सेकको आज आयोजित समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सार्वजनिक गर्नुभएको उक्त पुस्तकमा महिलाविरुद्धको हिंसामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा एक हजार छ सय २३ घटना भएको देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नौ सय ५६, प्रदेश १ मा चार सय ५७, बागमती प्रदेशमा चार सय ३४, गण्डकी प्रदेशमा तीन सय ३७, कर्णाली प्रदेशमा दुई सय ११ र मधेस प्रदेशमा दुई सय १० वटा घटना भएको देखिएको छ ।
त्यसमध्ये मानव बेचखिनको प्रयासका घटनामा २४, घरेलु हिंसाका घटना तीन हजार ३१, बोक्सीको आरोपमा २३, बलात्कारका घटनामा पाँच सय पाँच, बलात्कार प्रयास एक सय ४५, यौन दुव्र्यवहार एक सय ४५ र बेचबिखनका घटनामा २४ महिला पीडित भएका छन् । यस वर्ष पारिवारिक हत्याका घटनामा एक सय ११ महिला मारिएका छन् भने भनेजति दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या भएको छ ।
यस्तै दोस्रोमा बाल अधिकारविरुद्धका एक हजार चार सय ५३, कुटपिटका चार सय ४८, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारसम्बन्धीका चार सय पाँच, हत्याका तीन सय ३२ र घाइतेका दुई सय ५६ घटना भएका छन् । त्यस्तै गिरफ्तारका ८१, कारागारका ५३, अपहरणका ३५, धम्कीका २७, अमानवीय व्यवहारका २५, जातीय विभेदका २२, यातनाका पाँच, हिरासतमा मृत्युका चार र बेपत्ताका दुई घटना भएका छन् ।रासस