राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ ।
गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक आज यहाँ आयोजित ‘पुस्तक विमोचन तथा ज्ञान हस्तान्तरण समारोहमा’ वरिष्ठ समाजसेवी तथा साहित्यकार भद्रकुमारी घले र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा संस्कृतविद् डा जगमान गुरुङले विमोचन गर्नुभयो ।
विभिन्न विषयका ४२ शीर्षकका लेख समेटिएको दुई सय ८० पृष्ठको पुस्तकमा इतिहास, सामाजिक परिवेश, विकास, अनुभूति र भोगाइका रोमाञ्चक स्मरण उल्लेख गरिएको छ ।
घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा लेखक गुरुङले ‘गौरीशङकर र चेर्दुङको बस्ती, नुनखेप्न भोटतिर, भेडीगोठमा भालु आयो, आफैँभित्र देवता र दानवजस्ता विभिन्न शीर्षकमा रोचक र घतलाग्दा विवरण समावेश गर्नुभएको छ ।
गुरुङसँग तत्कालीन पञ्चायतकालमा प्रधानपञ्च हुँदै नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिक अनुभव छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका बुवासमेत रहनुभका मकरध्वज एक सच्चा, इमान्दार र कुशल राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी हुनुहुन्छ । राजनीतिसँगै सामाजिक सेवा र उद्यमशीलतामा सक्रिय गुरुङले गाउँको विकास र पूर्वाधार निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको विषय पनि पुस्तकमा लेखिएको छ ।
तत्कालीन राजनीतिक परिवेशको भोगाइ, जीवन सङ्घर्ष, व्यापार सफलता र राजनीतिक जीवनको झ–झल्को दिने पुस्तक युवापुस्ताका लागि ज्ञान हस्तान्तरण गर्ने उपयुक्त साधन भएको विज्ञ सरोकारवालाले औँल्याउनुभयो ।
समाजसेवी भद्रकुमारी घलेले राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने मकरध्वजको पुस्तकले युवापुस्तालाई सही दिशावोध गर्न उपयोगी हुने बताउनुभयो । “मान्छेको जीवन अमूल्य छ, जीवन कस्तो बनाउने भन्ने आफैँमा भरपर्छ”, उहाँले भन्नुभयो, “मान्छेले मान्छे बन्ने कोसिस गरौँ, नेपालमा जन्मेर नेपाली बन्ने समर्पणभाव राखौँ तबमात्रै नेपाल समृद्ध हुन्छ ।”
संस्कृतिविद् डा जगमान गुरुङले विशिष्ट व्यक्तित्व मकरध्वजको चरित्र अनुसरण गरेर अघि बढ्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभयो । उहाँले भन्नुभयो, “जातीय विभेद, सामाजिक द्वन्द्व हैन, आपसी समान भावनाबाट अभिप्रेरित भएमात्र देश समृद्ध हुन्छ ।”
पुस्तकका लेखक मकरध्वज गुरुङले आफ्नो भेडा गोठालोदेखि पञ्चायतको राजनीति हुँदै बहुदलीय व्यवस्थासम्मको राजनीतिक जीवन सङ्घर्षको अनुभूति सुनाउनुभयो ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुवाको पञ्चायतकालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक जीवनयात्राका बारेमा स्मरण गराउनुभयो । “पुस्तक हिजोको समाजको दस्तावेज हो । यसले अहिलेको पुस्तालाई ज्ञान दिन्छ । मकरध्वजको आत्मकथामात्रै होइन, तत्कालीन राजनीतिक अनुभूति, सामाजिक परिवेशको जीवन्त तस्वीर पनि हो”, गुरुङले भन्नुभयो ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका गुरुङको पुस्तकले आधुनिक पुस्तालाई सामाजिक सत्कर्मप्रति प्रेरणाभाव जगाउन सहयोगी हुने बताउनुभयो ।
पुस्तकको टिप्पणी गर्दै पत्रकार बलराम थापाले जीवन सङ्घर्ष, उद्यमशीलता, पूर्वाधार विकासलगायत तत्कालीन इतिहासको संस्मरणलाई पुस्तकले समेटेको उल्लेख गर्नुभयो ।
दोलखाका पूर्वजिल्ला सभापतिद्वय शिवप्रसाद भण्डारी र रुद्र खड्काले तीन राजनीतिक कालखण्डको प्रतिनिधित्व गर्ने गुरुङको पुस्तकमा कृषि, पशुपालन, व्यापार, राजनीति र समाजसेवा क्षेत्रको अनुभवको सङ्गालो पुस्तक सङ्ग्रहणीय रहेको बताउनुभयो ।
पुस्तकको सम्पादकीय भूमिका निर्वाह गर्नुभएका सुभेच्छा विन्दु तुलाधरले तत्कालीन सामाजिक आर्थिक, राजनीतिक परिवेश सङ्गालेको पुस्तकले समकालीन राजनीतिका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।रासस