इजरायलले द्विपक्षीय सम्बन्धको सामान्यीकरणको स्वरूप बिहीबारदेखि तुर्किएका लागि सिधा उडानहरू पुनः शुरु गर्ने जनाएको छ ।
इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलबाट टर्किएको उडानहरू दुई दिनमा पुनः सञ्चालन हुने बताएका छन् । उनले राजधानी अङ्कारामा टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँगको संयुक्त पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएका हुन् । “हामी तपाईंको महत्त्वपूर्ण र सुन्दर देश र इजरायल बीचको महत्त्वपूर्ण सम्बन्धलाई थप न्यानो बनाउनेछौं,” उनले भनेका छन् । उनले द्विपक्षीय सम्बन्धलाई उन्नत चरणमा लैजाने कदमहरूबारे छलफल समेत छलफल भएको बताएका छन् ।
इजरायलले गत हप्ता टर्किएको विनाशकारी भूकम्पको पहिलो दिन ४५० सदस्यीय उद्धार टोली पठाएको थियो । ती उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा फिल्ड अस्पताल स्थापना गर्न खटाइएका छन् । मन्त्री कोहेनले टर्कीलाई मानवीय सहायता जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
त्यसैगरी टर्कीका विदेशमन्त्री काभुसोग्लुले आफूहरूलाई राहत र उद्धार पठाउँने देशहरू मध्ये इजरायल महत्त्वपूर्ण भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
इजरायल र टर्की बीचको सम्बन्ध सन् २०१० मा तनावग्रस्त भएको थियो । टर्कीको नेतृत्वमा रहेको गाजा पट्टीमा इजरायलको नाकाबन्दी तोड्ने प्रयास गर्दा फ्लोटिलाले इजरायली सेनासँग झडप हुँदा १० जना टर्कीका नागरिकहरू मारिएका थिए, त्यसयता सम्बन्ध चिसिएको थियो ।
सन् २००८ पछि लामो समय अवरुद्ध भएको द्विपक्षीय सम्बन्ध इजरायली राष्ट्रपति इसाक हर्जोगले गत वर्ष अङ्काराको भ्रमण गरेपछि सामान्यीकरणको दिशामा छ।
यसै बीच सन् २०२२ मा दुवै देशहरूले एकअर्काका देशहरूमा राजदूतहरू पनि पुन: नियुक्त गरेका छन् ।