प्रधानमन्त्री दाहालले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । “जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढङ्गले स्थापित गर्ने जिम्मेवारी भने तपाईं हाम्रै छ”, उहाँले भन्नुभयो, “हामीले नै यसलाई आम जनताका बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतर्फ लैजानुपर्ने आवश्यकता छ ।”

ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपथ्र्यो भन्दै उहाँले ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । “यो निर्णय सम्पूर्ण सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मान हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो परिवर्तनलाई अब सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउने सङ्कल्प पनि हो ।” यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढेको उहाँको भनाइ छ ।

अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको जनाउँदै उहाँले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताउनुभयो । “अर्थतन्त्र र राजनीतिको स्थिति के छ तपाईं हामी सबैलाई थाहा छ । यो सबै सन्दर्भमा मैले सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरका रुपमा लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीलाई असफल हुने बिल्कुल छुट छैन । हामीले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने छ ।”

केही समयदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौँ कोणबाट प्रश्न उठाउने कोशिस भइरहेका जनाउँदै उहाँले यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प छैन ।