सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज तुलसीपुर दाङमा रहेको राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा रासस तुलसीपुर दाङ कार्यालयमा पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई कार्यालयबाट प्रवाह गर्ने सेवा प्रवाहका बारेमा कार्यालयका प्रमुख नारायणी रजौरेले जानकारी गराउनुभयो । सो अवसरमा कार्यालय प्रमुख रजौरेले कार्यालयका जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार तथा व्यापारिक प्रयोजनका लागि भाडामा दिइएका कोठाका बारेमा मन्त्री शर्मालाई अवगत गराउनुभयो ।

उहाँले रासस लुम्बिनी कार्यालयका लागि जग्गा तथा भवनको व्यवस्था तथा रासस दाङ कार्यालयका लागि आवश्यक पर्ने उपकरण लागि सहयोग गरी दिनहुन मन्त्री शर्मालाई अनुरोध गर्नुभयो । मन्त्री शर्माले रासस तुलसीपुरको व्यवस्थापन राम्रो रहेको पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यसका लागि कार्यालय प्रमुख रजौरेलाई धन्यवाद दिनुभयो । मन्त्री शर्माले यही गतिमा अघि बढ्न निर्देशन दिँदै त्यसका लागि सरकारको सहयोग रहने बताउनुभयो ।