साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए । त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि टिकेन ।
बाह्र वर्ष खर्चेर निर्माण सम्पन्न हुँदै गरेको पुलका दुई पिलरमध्ये गत वर्ष असार १७ गतेको बाढीले सिरहातर्फको बसपिट्टामा र कात्तिक ३ गते धनुषातर्फको तीन नम्बर पिलर केही धक्कामै भाँसिए । भाँसिएको एक वर्ष बितिसक्दा पनि हुलाकी सडकको मेरुदण्ड र मधेश प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल निर्माण हुन सकेको छैन ।
वर्षौँपछि निर्माण सम्पन्न हुन लागेको पुल बाढीले भाँसिएपछि ‘हात्ति छि¥र्यो पुच्छर अड्क्यो’ जस्तै अवस्था छ । त्यही अवस्था देखेर यस क्षेत्रका सर्वसाधारण निरास छन् । सिरहाको नवराजपुरका ७२ वर्षीय अशोक यादवले पुल निर्माणपछि वर्षौदेखि सास्तीबाट मुक्ति पाउने अपेक्षामा खुसी भएकामा त्यो पूरा हुन नपाउँदै भाँसिएको र अहिलेसम्म निर्माण सुरु नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।
“वर्षौँपछि पुल सम्पन्न हुँदैछ भन्ने सुनेर खुसी लागेको थियो, तर पिलर भाँसिएर अवरुद्ध भयो”, उहाँले भन्नुभयो, “तीन वर्षमा बन्ने काम १२ वर्ष लाग्यो, पुल भाँसिएको पनि वर्ष दिन भइसक्यो, त्यो बन्न फेरि कति समय लाग्ने हो ?” कमला पुल निर्माण हुँदा सिरहा सदरमुकामबाट छोटो दूरीमै मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न सकिन्थ्यो । अहिले पूर्व–पश्चिम राजमार्ग हुदैँ लामो यात्रा गर्न बाध्य हुनुपरेको छ ।