कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् ।
अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिनुभयो ।
“नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक श्रीमान्ले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।”
विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ । ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ ।