तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाई गाड्न थालिएकाले आहारा खोज्न गिद्धलाई सजिलो भएको छ ।प्रकृतिको कुचिकारको रुपमा चिनिने गिद्ध बढ्दो बजारीकरणका कारण अग्ला रुख तथा आहाराको अभाव हुँदा लोपोन्मुख अवस्थामा पुगेकामा हाल आहाराका लागि व्यवस्थापन हुन थालेकाले उनीहरुको आगमन बढेको हो ।

गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरुलाई आहाराको रुपमा राख्न थालेपछि गिद्धको बथान यहाँ देख्न थालिएको छ । गिद्धको संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सीस्थित शिशुवा भतेरीमा आहाराको व्यवस्थाका साथै बासस्थानका लागि अग्ला रुख तथा आहाराको व्यवस्था हुन थालेपछि विभिन्न प्रजातिका गिद्धका बथान देखिन थालेको शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाको सहयोगमा स्थापना गरिएको केन्द्रले मरेका गाईवस्तुलाई मादी नदी किनारको चौरमा आहाराको रुपमा राखिदिएकाले गिद्ध आउन थालेको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार यसरी व्यवस्थापन हुन थालेपछि छाडा चौपायाका कारण सडक अवरुद्ध भएर हुने दुर्घटनामा पनि कमी आएको छ । “यस क्षेत्रमा गौ संरक्षण केन्द्र राखिनु अघि गिद्धका बथान देखिदैनथियो तर अहिले दैनिक विभिन्न प्रजातिका गिद्ध थपिएका छन्, विज्ञलाई ल्याएर अध्ययन गराउँदा दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध आउने गरेको पाइएको छ”,उहाँले भन्नुभयो ।रासस