बाँके राष्ट्रिय निकुञ्जले सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खल्बलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका हो । संरक्षण अभियानअन्तर्गत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा ती घडियाल गोही छाडिएको छ । जलचरविज्ञले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिलेसमेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र निकुञ्जले गोही संरक्षणको प्रयास थालेको हो । अभियानअन्तर्गत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुई भाले र आठ पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ । घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको सङ्ख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जले जनाएको छ । राप्ती नदीको पानीमा प्रदूषण न्यून रहेको र स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको गोहीको मुख्य आहारा माछा हो । राप्ती नदीमा दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह बताउनुहुन्छ । उहाँले गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।रासस