यहाँको निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ डुमिसरा सारु । उहाँको भलिबलमा धेरै नै रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने सोच भएतापनि खेल्ने उचित वातावरण नहँुदा उहाँ निराश हुनुहुन्छ । स्थानीय तथा विद्यालयस्तरमा हुने खेलकुदका कार्यक्रममा सहभागी हुँदै गर्दा पूर्वाधारको विकास तथा उचित वातावरण नहुँदा राम्रो खेलाडी बन्ने सपना पूरा नभएकोमा उहाँ चिन्तित हुनुहुन्छ । दुई वर्षदेखि स्थानीयस्तरमा हुने भलिबल खेलमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ उहाँले । सोही विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुहुन्छ । एकै प्रकृतिको खेल आयोजना भएपनि पुरस्कारमा महिलालाई समान व्यवहार नभएको उहाँको गुनासो छ । “प्रतिभाशाली खेलाडी भए पनि बाहिर प्रतिस्पर्धामा निस्कने कम छन् । पुरुषको तुलनामा महिलाका लागि आयोजना हुने खेलमा थप मनोबल बढाउने गतिविधि हुनुप¥यो, महिला भनेर एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद् गर्नुभएन, यस्ता कुराले पनि भर्खरै खेलमा जुर्मुराउँदै गरेका खेलाडीमा असर गर्न सक्छ” उहाँले भन्नुभयो । गाउँघरमा छरछिमेक, दाजुदिदीले खेल खेलेको देखेर आफूले पनि स्थानीयस्तरमा हुने कार्यक्रममा सहभागिता जनाउने गरेको उहाँको भनाइ थियो । “पुरुष खेलाडीले खेल्दा दर्शकबाट पनि छुट्टै प्रोत्साहन हुने, आयोजकले विशेष प्राथमिकता र महत्व दिने गर्दछन् । यसले गर्दा महिला खेलाडीमा निराशा हुनु स्वभाविक नै हो”, उहाँले भन्नुभयो ।रासस