सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी कोसेली लिएर गुरुङको घरमा पुग्नुभएको थियो । कोसेली रहेको झोलामा घ्यू, ज्वानो, मह, सर्फ, डेटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानेटरी प्याड, झुल, म्याक्सीलगायत सुत्केरीलाई आवश्यकपर्ने सामग्री थिए । “उपप्रमुखले घरमै आएर कोसेली दिनुभयो, उहाँ घरमै आउँदा निकै खुसी लाग्यो”, गुरुङ भन्नुहुन्छ । उक्त नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालेको हो । सोही कार्यक्रमअन्तर्गत विभिन्न वडाका सुत्केरी आमा र शिशुलाई भेट्न उपप्रमुख अधिकारी आफै पुग्नुहुन्छ । झोलामा सुत्केरीलाई चाहिने सामानसहितको झोला बोकेर उहाँ पुग्दा सुत्केरीका साथै परिवार पनि खुसी हुने गरेका छन् । “नजिकैको सरकार महसुस गर्न पाएका छौँ, निकै खुसी लागेको छ”, वडा नं १ की सुत्केरी सुुशीला श्रेष्ठ भन्नुहुन्छ ।रासस