राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसहकर्मी एवं कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा आज निधन भएको छ । उहाँको बुढानीलकण्ठ चपलीस्थित घरमा अपराह्न ३ः३० बजे निधन भएको कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो । लामो समयदेखि दमको रोगबाट पीडित कलाकार पौडेल अभिनित चलचित्र ‘ऐना झ्यालको पुतली’ गत भदौ २४ मा र ‘नालापानी’ मा कात्तिक ४ मा प्रदर्शन भएको थियो । अठसठ्ठीभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएका कलाकार पौडेल टेलिचलचित्र, म्युजिक भिडियो र विज्ञापनमा देखिनुहुन्थ्यो । उहाँका पाँच छोरा, दुई छोरी र १४ जना नातिनातिनी छन् । श्रीमती देवकुमारी पौडेल गृहणी हुनुहुन्छ । सङ्खुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको कोखबाट जन्मिनुभएका कलाकार पौडेलले शिक्षण पेशासमेत गर्नुभयो । बनारसबाट आइएसम्मको शिक्षा लिएर नेपाल फर्किएपछि शिक्षण पेशामा रहँदा नै उहाँले राससको सङ्खुवासभा प्रतिनिधि भएरसमेत काम गर्नुभएको थियो । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा क्याम्पस उद्घाटनका लागि सङ्खुवासभा पुग्नुभएको बेला प्रमुख जिल्ला अधिकारीले सङ्खुवासभाबाट रासस प्रतिनिधिका रूपमा पदम सरले मात्र काम गर्न सक्नुहुन्छ भन्ने जानकारी दिएपछि उहाँलाई रासस प्रतिनिधि बनाइएको थियो । कलाकार पौडेलको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन कलाकारहरू पशुपतिस्थित आर्यघाट पुगेका थिए । आज नै कलाकार पौडेलको दाहसंस्कार हुने कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिनुभयो ।रासस