बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्ये निरुपण मण्डलले उहाँको उपन्यास कृति ‘पटाक्षेप’लाई छनोट गरेको थियो । हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु २० हजार छ । प्रतिष्ठानले १६औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि उक्त पुरस्कार काठमाडौँका लेखक बाजुराम पौडेल, तनहुँका काशिनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायतले पाइसक्नुभयो । यस्तै प्रतिष्ठानमा स्थापित ‘बम–सरस्वती स्मृति पुरस्कार’ यस वर्ष कपिलवस्तुका स्रष्टा सकुन्तला शर्मा पौडेललाई प्रदान गरिने भएको छ । उक्त बागलुङ, मूलपानी घर भई हाल बेल्जियममा रहनुभएका कवि दीपेन्द्र केसीले हजुरबुबा र हजुरआमाको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुरस्कार यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायतले पाइसक्नुभएको छ । प्रतिष्ठानबाट पहिलोपटक प्रदान गर्न लागिएको ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’बाट बागलुङ, बेलवाका स्रष्टा तुलसी पौडेल पुरस्कृत हुनुहुने प्रतिष्ठानले जनाएको छ । सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ । बलेवा निवासी डा प्रेमप्रसाद शर्माले दिवङ्गत बुबाआमाका नाममा सो पुरस्कार स्थापना गर्नुभएको हो । आउँदो शनिबार बागलुङ सदरमुकाममा आयोजना हुनेसमारोहमा एकसाथ तीनवटै पुरस्कार समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । प्रतिष्ठानले साहित्यको श्रीवृद्धिमा योगदान गर्ने कवि, लेखकहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ । विसं २०४१ मा स्थापित प्रतिष्ठान भाषा, साहित्य र कलाको उत्थानमा क्रियाशील छ । प्रतिष्ठानमा राष्ट्रियस्तरको ‘भूपि पुरस्कार’ पनि स्थापित छ ।रासस