लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । मन्त्री बन्नुभएका अन्य दुईजना पनि बिना विभागीय रहनुभएको छ । नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रुपमा रहनुभएको हो । पुस २७ गते नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट माघ ५ गते विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि सत्ता साझेदार दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । मुख्यमन्त्री गिरीको सचिवालयका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारी छ । रिक्त राष्ट्रियसभाको निर्वाचन लुम्बिनी प्रदेशमा भोलि बुधबार हुदैछ । माओवादी केन्द्र संसदीय दलका नेता महराले पनि राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका सबै दलसँग छलफल र सहमति गरेर सरकारलाई पूर्णता दिन भनेका छौँ।” सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरुसंग छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालय सदस्य अमृत गिरीले जानकारी दिनुभयो । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीको भेटघाट पनि भएको थियो ।रासस