सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुराना कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पार्नुभयो । उहाँले महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सोही आधारमा सुधार गरिदै लैजाने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन् । राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन । देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो”, उहाँले भन्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गर्नुभयो । सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिनुभयो ।रासस