नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त मनोनयनमध्ये विजेता खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । मनोनयनमा परेका आशिफ शेखले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमा नै अविजित अर्धशतक बनाएका थिए । उनले नेदरल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेसँग ११६ रनको साझेदारी गरेका थिए जुन नेपालको ओपनिङमा उच्च साझेदारी थियो । त्यस्तै शेखले सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जिते । उक्त अवार्ड पाउने उनी नेपालको पहिलो खेलाडी हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबमा आवद्ध टेनिसकी अभिलाषाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन् । भलिबलकी उषा सम्मिलित टोलीले नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।रासस