नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । वडा नं७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट छ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा निर्माण गरिने सवस्टेशन र विस्तार गरिने प्रसारण प्रणालीले नगरपालिकालाई लाभभन्दा क्षति पुग्ने भन्दै स्थानीय सरकारका तर्फबाट बेलकोटगढीले असन्तुष्टि जनाएको हो । नगरप्रमुख जगतबहादुर गुरुङले सवस्टेशनको निर्माणले नगरको राजस्व सङ्कलन, कृषि उब्जनीको उत्पादन, रोजगारीको अवसरलगायतमा नोक्सान पुग्ने भन्दै सवस्टेशन निर्माणसँगै नगरका लागि सहयोग कार्यक्रम आउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार उक्त सवस्टेशन राख्न करिब चार सय रोपनी क्षेत्रफल जग्गा मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसिए)–नेपालले खरिद गरेको छ । उक्त स्थानमा चारसय केभी क्षमताको ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको जग्गा अहिले खाली गर्न भनिएको छ ।रासस
