फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार नीति अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यावसायिक प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश, भूटान र पाकिस्तानका उत्पादकले पनि स्टल बुकिङ गरेका छन् । महोत्सवमा दुई सय बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले जानकारी दिनुभयो । मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवसायीले सञ्चालन गरेको व्यावसायिक स्टल र उनीहरूको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुसरण गर्दै आगामी दिनमा व्यापार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका अग्रवालले विदेशबाट आएका व्यापारीको व्यापार नीति मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । मेची डिष्ट्रिब्युटर एशोसिएशनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सवस्थल उपभोक्ता र अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्यस्थलका रूपमा निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।रासस