उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो । “पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, उहाँले भन्नुभयो, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उहाँल श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पार्नुभयो । नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गर्नुभयो ।रासस