दक्षिण एसियामा नव–उदारवादी अर्थ व्यवस्थाको प्रभाव बढ्दै गएकाले आर्थिक क्रियाकलापमा नयाँ सङ्कट देखा परेकामा दक्षिण एसियाली माक्र्सवाद अनुसन्धान सङ्गठनले चिन्ता व्यक्त गरेको छन् । यहाँ आज आयोजित कार्यक्रममा विश्वका वामपन्थी कम्युनिष्ट आन्दोलनका अगुवाले उदारवादको संशोधित रुप नवउदारवाद भएको बताउँदै यसले निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने हुँदा सामाजिक सहयोग तथा मूल्य मान्यतामा कमी आउने बताएका हुन् । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले नवउदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र र समाजमा निजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार र खुला अर्थतन्त्रको अवधारणाको विकास भएको बताउँदै यस अर्थ व्यवस्थाले सामाजिक तथा सांस्कृतिक मान्यता न्यूनीकरण गर्ने चुनौती आँैल्याउनुभयो । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश इन्चार्ज सावित्रा भुसालले नवउदारवादको प्रयोगले उत्पादनका साधन र स्रोतमा राज्यको नियन्त्रण खुम्चने हुँदा खुला बजार, निजीकरणका रुपमा उद्यमीले बजारमा नियन्त्रण गर्ने र सरकारले आवश्यक हस्तक्षेप गर्न नसक्ने समस्या रहेको बताउनुभयो । किसान अगुवा प्रमेश पोखरेलले उत्पादनका सबै क्षेत्रमा नवउदारवादीले प्रभाव पार्ने भए पनि कृषि क्षेत्रमा गरिने नयाँ बीउबिजनका प्रयोगले मौलिक उत्पादन लोपोन्मुख भई सामाजिक पहिचानमा पनि ह्रास आउने खतरा रहेको प्रस्ट पार्नुभयो ।रासस