सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिनुभयो । विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उहाँले आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताउनुभयो । सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोंच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताउनुभयो । “वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वद्र्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।रासस