दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ । जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहँुदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज जानुपर्दा आर्थिक तथा समयको खर्च हुनुका साथै सामान हराउने गरेको छ । “सुन चाँदी व्यावसायीले हरेक वर्ष जाँच तथा नवीकरण गरिनुपर्ने बाध्यता छ, नवीकरण नगरेमा जरिवाना लाग्छ, जाँच तथा नवीकरणका लागि जिल्लामा सुविधा छैन”, उहाँले भन्नुभयो । नेपालगञ्ज जाँदा आफ्नो सवारी नहुनेलाई दुई दिनसम्म लाग्ने उद्योगी तथा व्यवसायी बताउँछन् । जिल्लामा नापतौलको कार्यालय भएमा व्यावसायीलाई सहज हुने अध्यक्ष विकको भनाइ थियो । आफुहरुले समस्याका बारेमा पटक–पटकसम्बन्धित निकायमा जानकारी गराए पनि समाधान नभएको उहाँले बताउनुभयो । “नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्दछाँै, कति बेला बिग्रिन्छ थाहा हुँदैन, नयाँ किनेका सामग्री ३५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानुपर्छ” गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले भन्नुभयो।रासस