जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्र गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो । रु तेइस करोड दुई लाख ८० हजारमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु तीन करोड चार लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो । थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उहाँले बताउनुभयो । पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए । उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।रासस