भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ । गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ कोठा र अर्को भवन चार कोठाको निर्माण हुने भएको छ । छात्रावासका दुईवटै भवन निर्माणका लागि रु ३०–३० लाख गरी रु ६० लाख र पाठशाला भवन निर्माणका लागि रु ४० लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यालयकै लगानीमा रु १५ लाखको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ । “नियमानुसार बोलपत्र प्रक्रियामार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्” अध्यक्ष जोशीले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माणकार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्तरूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ ।” गुरुकुलको आफ्नै भवन नहँुदा भम्केनी धार्मिक क्षेत्रको भवनमा सञ्चालन हँुदै आएको छ । विसं २०७८ देखि सञ्चालन हँुदै आएको गुरुकुलमा वैदिक परम्पराअनुसारको संस्कार र शिक्षा विद्यार्थीलाई दिइँदै आएको छ । गुरुकुलका प्राचार्य दुर्गादत्त जोशीका अनुसार चालु शैक्षिकसत्रमा कक्षा ६ र कक्षा ७ मा नेपाल सरकारले तोकेको पाठ्यक्रममा आधारित विषयवस्तु नियमितरूपमा पठनपाठनको कार्य भइरहेको छ । “आउदो शैक्षिकसत्रमा कक्षा ८ सम्मको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा अनुरोध गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।रासस