त्रिभुवन विश्वविद्यालय सङ्गीत विभाग प्रमुख डा ध्रुर्वेशचन्द्र रेग्मीले नेपाली सङ्गीत विद्यालय सङ्गीत क्षेत्रको स्रोत केन्द्र बनेको बताउनुभयो । नेपालकै पहिलो विद्यालयबाट धेरै सङ्गीत क्षेत्रमा आबद्ध रहनुभएकाहरूको मार्गदर्शनसमेत भएको उहाँले उल्लेख गर्नुभयो । विश्व सङ्गीतका आधुनिक विधालाई समेट्नुपर्ने भन्दै उहाँले नेपाली सङ्गीतको दायरा अत्यन्तै ठूलो बन्दै जानु सकारात्मक पक्ष भएको बताउनुभयो । पूर्वीय र पश्चिमी सङ्गीत यस विद्यालयमा अध्यापन गराउनुपर्ने धारणा राख्नुभयो । जातीय र लोक–सङ्गीतजस्ता महत्वपूर्ण पक्षलाई समेटेर विद्यार्थीलाई सिकाउनुपर्ने उहाँको भनाइ छ । विभाग प्रमुख रेग्मीले नेपाल सङ्गीत विद्यालयले औपचारिक सङ्गीत शिक्षाको प्रारम्भ गरेकामा खुसी व्यक्त गर्नुभयो । सङ्गीत विषयको पाठ्यक्रम बनाउन सरकारलाई सङ्गीत विद्यालय परिवारले महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । यस विद्यालयमा हाल फिल्म स्टडी सुरु हुनुले थप सहजता भएको उहाँको भनाइ छ । नेपाल सङ्गीत शैक्षिक गुठीका संस्थापक तथा सदस्यसचिव सन्तोष शर्माले सन् २००६ बाट सुरु गरिएको नेपाल सङ्गीत विद्यालयले राष्ट्रलाई महत्वपूर्ण योगदान गरेको बताउनुभयो । सरकारी र गैरसरकारी विद्यालयबीच राज्यले विभेद गरेको भन्दै सरकारले योगदानको आधारमा मूल्याङ्कन गरी सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।रासस