नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय सङ्गठन, जनसङ्गठन एवं सहायक सङ्गठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ । सो बैठकसँगै पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवं स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रुपमा नै समीक्षा गर्ने निर्णय बैठकले गरेको छ । जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्याङ्कन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिनुभयो । सहमतिमा राष्ट्रपति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) सहितको सहमतिमा राष्ट्रपतिको चयन गरिने बताउनुभयो । उहाँले सहमतिका आधारमा नै मुलुकका समस्या समाधान गर्ने सोच आफूहरुको रहेको र त्यसैका आधारमा आफ्नो मत राखेको उल्लेख गर्नुभयो । राष्ट्रिय सहमतिको कुरा गर्दा कोही कसैले पनि आत्तिन नहुने नेता पौडेलको भनाइ छ ।रासस