जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ । सडकमै सवारी साधनको पार्किङले पनि बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । सदरमुकाममा रहेका कुनै पनि सरकारी कार्यालयभित्र सेवाग्राहीले पार्किङको सुविधा पाउँदैनन् । जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ । कार्यालयले सेवाग्राहीका सवारी साधन पार्किङ गर्न अनुमति दिँदैनन् । यहाँका कार्यालयमा मानिस छिर्ने ठाउँ राखेर ढोका बन्द गर्ने चलन वर्षांैदेखि छ । सदरमुकाममा रहेका ठूला सप्लायर्सका ढुवानी गर्ने ट्रकले कार्यालय, विद्यालय समय हेर्दैनन् । सडक नै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन् । साँघुरो सडक नै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पु¥याउँदै आएका छन् । पार्किङस्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । सहरोन्मुख दश पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरबन्दी छ । सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्या समाधानमा मात्रै आठ÷नौजना चाहिन्छन् । बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले बताउनुभयो ।रासस