जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेलाञ्चोकको संयुक्त आयोजनामा आजदेखि जिल्लास्तरीय ‘बृहत् खेलकुद महोत्सव’ हुँदैछ । खेलाडी उत्पादन गर्ने र खेलक्षेत्रको बृहत्तर विकासका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारको गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यले पनौतीस्थित क्षेत्रीय रङ्गशालामा चार दिनसम्म सञ्चालन हुनेछ । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ स्थित क्षेत्रीय रङ्गशालामा सञ्चालन हुने खेलकुद महोत्सवमा विभिन्न १२ वटा विधामा एक हजार चार सय ९४ खेलाडीले प्रत्यक्ष सहभागिता जनाउँदैछन् । जिल्लाका १३ वटै पालिकाबाट खेलाडीको सहभागिता हुने महोत्सवमा फुल कन्ट्याक कराते, सितेरियो कराते, डब्लुटिएफ तेक्वान्दो, आइटिएफ तेक्वान्दो, भलिबल, कबड्डी, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बुद्धिचाल र योगा गरी १२ खेलमा खेलाडीले फरक–फरक समूहमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति काभ्रेपाञ्चोकका अध्यक्ष मानवीर वाइबाले बताउनुभयो । त्यसका लागि पनौतीमा जिल्लाभरिका विभिन्न विधाका खेलाडी उपस्थित भइसकेका छन् ।रासस