झापाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसक्नुभएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सक्नुभएको थिएन । आफू वर्षौँदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा आएपछि विश्वकर्मा परिवारमा पहिलोपटक औधी खुसी भित्रिएको छ । चार दशकदेखि ती दलित दम्पती परिवार सुकुम्बासीका रूपमा बस्दै आउनुभएको थियो । बिहीबार दमक–१० को वडा कार्यालयमा दमक नगरपालिकाले आयोजना गरेको दलित भूमिहीन, भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा धनीपुर्जा वितरण कार्यक्रममा विश्वकर्मा दम्पतीको फोटो टाँस गरिएको जग्गा धनीपुर्जा हात परेपछि खुसीले हर्षविभोर हुनुभएको थियो । बुढेसकालमा आफूहरूले पाएको जग्गाको मालिक बन्ने सपना पूरा भएको दम्पतीले सुनाउनुभयो । उहाँहरूले एकै स्वरमा भन्नुभयो, “जीवनमा यो भन्दा ठूलो खुसी अरु के हुन्छ र ?” भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट जग्गाधनी प्रमाण पुर्जा ग्रहण गरेका विश्वकर्मा दम्पतीजस्तै सोही वडाकी सञ्चमाया लिम्बूलाई पनि १५ धुर एक पावा जग्गाको धनीपुर्जा हात पर्दा मन उसैगरी खुसीले गद्गद भएको छ । विश्वकर्मा र सञ्चमायाजस्तै सोही ठाउँका ६३ वर्षीय कालीचन्द्र दास पनि यो उमेरमा आएर आफूले बसोबास गरिरहेको जग्गाको स्वामित्व आफ्नै नाममा आउँदा उस्तै खुसीले रमाउनुभएको छ । उहाँहरूजस्तै सो वडाका कुल २७ परिवारलाई बिहीबार राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाको प्रमुख उपस्थितिमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भूमि आयोगले नापजाँच यकिन गरी जग्गाको धनीपुर्जा प्रमाणपत्र वितरण गरेको हो ।रासस