भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ । राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो । नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भूज सालिग्रामसहित शिला हस्तान्तरण गर्नुभयो । महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभएको थियो । शिला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताउनुभयो । उहाँले यो पुनित कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपालभारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । भगवान राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उहाँको भनाइ थियो ।रासस