स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ । ‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताउनुभयो । विद्यालयमा पढाई हुने विषयमा सैद्धान्तिक ज्ञान लिने गरिन्छ तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उहाँले बताउनुभयो । “साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरूपमा तरकारी उत्पादन गर्दा नभुलिने गरी शिक्षा प्राप्त भएको छ”, अङ्कितले भन्नुभयो, “विद्यालयका गुरु तथा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफँै काम गर्छौं, उत्पादन गर्छौं र त्यसको बजारीकरण पनि गर्छौं ।” यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उहाँको भनाइ थियो ।रासस
