प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उहाँले सांसदलाई अनुरोध गर्नुभयो । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।” उहाँले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।रासस
