तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान सहज भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिनुभयो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो भने अन्तिम विस्फोट मङ्गलबार गरिएको प्रमुख शिल्पकारले बताउनुभयो । पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । आयोजनाका अनुसार पाँच सय ३९ दशमलव आठ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम सिनो हाइड्रो, चीनले गरिरहेको छ ।रासस