हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दुरीको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउछन् । बस सञ्चालनमा आएपछि नियमित यात्रा गर्नका साथै एम्बुलेन्स सेवा, खाध्यान्न ढुवानी, विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानी लगायतका काममा सहज भएको स्थानीयको भनाइ छ । उत्तरी रसुवाको टिमुरे, थुमन, तातोपानी, थाम्बुचेत, गतलाङ, हाकुबेँसी, दक्षिणी क्षेत्रको डाडाँगाउँ, ठूलोगाउँ, मनिगाउँ, कर्मिडाँडा, जिवजिवे, अम्बावास, भोर्ले, यार्सा सरमथली, पाटीखर्कलगायतमा नियमित बससेवा सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । पूर्खाले भञ्ज्याङ चौतारीका गोरेटो तथा घोडेटो बाटोमा पैदलयात्रा गर्दथे तर अहिले सडक सञ्जाल विस्तार भएर बसबाट यात्रा गर्न थालेपछि दैनिकी सहज भएको बताइएको छ । काठमाडौँबाट बिहान छुट्ने बस साझ ५ बजेभित्र जिल्लामा पगिसक्ने स्थानीय चिरञ्जीवी पौडेलले बताउनुभयो । उहाँका अनुसार यातायातको सुविधाका कारण यहाँ प्रकृतिको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको छ ।रासस