दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठुलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले बताउनुभयो । परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरुलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड—१ नामक धानको खेती हुने गरेको छ । हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाइ कार्यान्वयन कार्यालयले जनाएको छ । “किसानलाई प्रविधिका बारेमा जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रर्दशनी गरेर आर्कषण बढाउने योजना छ”, ओझाले भन्नुभयो । उहाँले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।रासस