गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् । प्रतिकेजी रू छ देखि आठमा बेच्नुपर्दा लागत उठाउन मुस्किल भएको हरिवन नगरपालिका–२, आँमटोलका किसान रामपुकार महतोले गुनासो गर्नुभयो । “सुरुमा एक क्रेटको रू एक हजार दुई सयसम्म हुन्थ्यो तर अहिले एक सय ५० मा बेच्नु परेको छ”, उहाँले भन्नुभयो । भारतबाट गोलभेँडा भित्रिदा यहाँका किसान मारमा परेका उहाँको भनाइ थियो । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले क्रेटको रू डेढ सयका दरले बेच्नु पर्दा लागत उठाउन नै समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँका व्यापारीले पनि किसानबाट सस्तोमा गोलभेँडा किन्ने गरेका छन् । लालबन्दी नगरपालिका–१ नवलपुरका किसान रामचरित्र कुशवाहले १० कठ्ठामा गोलभेँडा खेती गर्नुभएको छ । “बजारमा व्यापारीले भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्”,उहाँले भन्नुभयो । खेतमा पाकेका गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान मारमा परेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।रासस