त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावित निर्देशिका, २०७९ मा कार्यतालिका प्रकाशन गरेको सातासम्म स्नातक तह प्रथम वर्षमा भर्ना हुने पाउने र त्यसपछि भर्ना बन्द गरिने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको कार्यतालिका भने प्रकाशन गर्न बाँकी छ । त्रिविका देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा समितिका सदस्य सचिव पशुपति अधिकारीले प्रस्तावित निर्देशिकाबारे विद्यार्थी सङ्गठनहरुसँग छलफल गरिसकेको बताउनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्गठनले कार्यतालिका प्रकाशन गरेपछि तीन दिन मात्र भर्ना गर्नुपर्ने सुझाव दिएका छन् । प्रस्तावित निर्देशिका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तयार पारेको हो । दोस्रो, तेस्रो र चौथो वर्ष एवम दोस्रो सेमेष्टरदेखि अन्तिम सेमेष्टरको भर्नाबारे भने क्याम्पसले नै तोकेर व्यवस्था गर्न सकिने निर्देशिकामा उल्लेख छ । तर सेमेष्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तिर्ण गरिसकेका कोटाभित्र प्रथम सेमेष्टर भर्ना हुनेको हकमा भने मतदातासूची प्रकाशित हुने मितिभन्दा दुई दिन अघिसम्म भर्ना गर्न पाइने व्यवस्था गरिएको छ ।रासस