राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा रास्वपाका सविता गौतमले सदन समयमै उपस्थित हुने, ड्रेसकोड कायम गर्ने र राष्ट्रिय धुनको सट्टा राष्ट्रिय गान नै बजाऔँ भन्ने विषयसहितका सुझाव प्रस्तुत गर्नुभयो । सभामुख सदनमा प्रवेश गर्नसाथ राष्ट्रिय धुन बजाइने र त्यहाँ उपस्थित सबै उठेर राष्ट्रिय धुनप्रति सम्मान गर्ने प्रचलन रही आएको छ । उहाँले भन्नुभयो, “पङचुवालिटी, सभालाई मर्यादित तुल्याउन ड्रेसकोट, राष्ट्रिय गानप्रति सम्मान व्यक्त गर्न त्यो बजाइँदा सबै शर्तक अवस्थामा रहनुपर्ने व्यवस्था होस् भन्ने हाम्रो दलको धारणा हो ।” सदनमा सभामुखको भूमिका निर्णाय(रेफ्री) जस्तो हुन्छ भन्ने मान्यता भए पनि कहीले काही प्रतिपक्षलाई पेलेर जान्छन् भन्ने कुरा सुनिँदै आएको बताउँदै समिति सदस्य गौतमले सभामुख कुनै दल विशेषको पक्षधर भएको खण्डमा त्यसको उपचार वा सम्वोधन कहाँबाट खोज्ने भन्ने विषय पनि निमयमालीमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । दल विशेषको सभामुख बनाउने होडबाजीले त्यो अवस्था आउन सक्नेतर्फ समयमै सचेत भएर निमयमावली बनाउन ध्यान पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।रासस