तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गर्नुभएको हो । उहाँले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हाँै ।” सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट पाँच, क्रिष्टिना गुरुङको तर्फबाट छ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले रु ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताउनुभयो । कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुइँमा सुत्नुपर्ने बाध्यता थियो । एक सय ३५ जना क्षमताको कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् । (ए) ब्लकमा एक सय २६, (बी) ब्लकमा एक सय ५० र (सी) ब्लकमा १९ जना कैदीबन्दी छन् ।रासस