रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो । अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको आलुखेतीलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै बजार व्यवस्थापनसम्मको कुरालाई तालिममा किसानलाई सिकाइएको जनाइएको छ । तालिम प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको किसान राजकुमार सुनारले बताउनुभयो । “पुथा उत्तरगङ्गाको ६ नं वडा मयाङमा मैले आफैँ धेरै मात्रामा आलु उत्पादन गर्दै आएको छु र अन्य त्यहाँका थुपै्र किसानले आलु उत्पादन गर्नुहुन्छ”, पुथा उत्तरगङ्गा गाउँकार्यपालिका सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “हामीले पुरानै तरिकाबाट खेतीपाती गर्दै आएका थियौँ । यसले गर्दा समयको खर्च, जति उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नहुनु, बीउ छनोट, मल, रोग कीराको व्यवस्थापनमा निकै समस्या हुँदै आएको थियो ।” आलुखेती प्रविधिसम्बन्धीको तालिम प्राप्त गरेपछि अहिले आफूलाई जग्गा छनोटदेखि लिएर हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण र बजारीकरणसम्मको योजना बनाउने कुरा थाहा भएको उहाँको भनाइ छ ।रासस
