नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताउनुभएको छ । उहाँले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले शहीदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको जनाउँदै भन्नुभएको छ, “देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ ।” उहाँले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमालेले अग्रसरता लिएको बताउनुभयो । उहाँले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहेको उल्लेख गर्दै लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्ने बताउनुभयो ।रासस