सुदूरपश्चिम प्रदेश कला र संस्कृतिमा धनी छ । यहाँको कला, संस्कृतिको जगेर्नाका लागि प्रदेशका विभिन्न क्षेत्रमा सांस्कृतिक मेला महोत्सव आयोजना गरिँदै आएका छन् । स्थानीय कला, संस्कृति जोगाउन महोत्सवबाट मद्दत पुगेको छ । कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि स्थानीयस्तरमा महोत्सव आयोजना गरिँदै आएका र मौलिकता हराउँदै गएको अवस्थामा यसबाट मद्दत पुगेको भजनीका तपेन्द्र कुँवर बताउनुहुन्छ । यहाँ आयोजना गरिने महोत्सवमा स्थानीय प्रतिभाले स्थान पाउने गरेका छन् । देउडा, न्याउल्या, हुड्के, सखियालगायत नाचले महोत्सवमा प्राथमिकता पाउँदै आएको छ । महोत्सवमा प्रस्तुत हुने गरेका पञ्चेबाजा, हुड्के नाच, देउडा, न्याउलेलगायतका नाचले विगतलाई सम्झाउने टीकापुर महोत्सव अवलोकन गर्न आउनुभएका टीकापुर नगरपालिका–१ का प्रेमबहादुर बोगटीले बताउनुभयो । “मलाई अझै सम्झना छ, मेरो विवाहमा हुड्के नाचले सबैको ध्यान आकर्षित गरेको थियो”, उहाँले भन्नुभयो । बोगटीको विवाह अछाममा भएको थियो । “तराई झरेपछि हुड्के नाच देख्न मुश्किल भएको थियो, बल्ल यहाँ आएर हेर्न पाइयो”, उहाँले भन्नुभयो । करिब ४० वर्षपछि हुड्केली नाच हेर्न पाउँदा बोगटी औधी प्रसन्न हुनुभयो । मेला महोत्सवमा छाडा प्रवृत्ति भित्रिने गरेकोप्रति आयोजक सचेत हुनुपर्ने उहाँको भनाइ छ ।रासस