घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् । पोखरा रङ्गशालामा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफलाई ३–२ सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधिसँगै नगद रु पाँच लाख पुरस्कार पायो । यसैगरी महिलातर्फ भने आर्मीलाई पराजित गरी एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । एपिएफ अघिल्लो संस्करणको विजेता हो । पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पियो । दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५–१८ र २५–१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । चौथो सेटमा गण्डकीले अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई नतिजा सुम्पियो । निर्णायक सेटको खेलमा भने गण्डकीले एपिएफलाई सुरुआतबाटै अग्रता बनाउँदै दबाबमा राख्न सफल भयो । अन्तिम सेट १५–८ आफ्नो पक्षमा पार्दै गण्डकी दोस्रोपटक उपाधि चुम्दा एपिएफ उपविजेता बनेर रु दुई लाख ५० हजार नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो ।रासस