कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृतरुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रदेशको राजधानी सुर्खेत समग्र कर्णालीकै ‘गेटवे’ रहेकाले एकीकृत विकास गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री शाहले भन्नुभयो, “प्रदेश राजधानीलाई एकीकृतरुपमा विकास गर्न सक्यौँ भने कर्णाली प्रदेश प्रवेश गर्नेबित्तिकै नयाँ प्रभाव देखिन्छ, त्यसैले एकीकृत विकास गर्नुपर्छ, साथै खानेपानी, व्यवस्थित बस्ती विकास, विद्युत्का तार भूमिगत गर्नमा मेरो ध्यान जानेछ ।” साथै मन्त्री शाहले रणनीतिक महत्वका आयोजना पूरा गर्न प्रदेशको मात्रै सामथ्र्यमा पूरा गर्न नसकिने भएकाले त्यसका निम्ति सङ्घीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता आयोजनामा सुर्खेत विमानस्थल निर्माण तथा धावनमार्ग विस्तार आवश्यक छ । दैलखको पञ्चकोसी क्षेत्रलाई एकीकृत विकासका रुपमा विकास, कर्णाली करिडोर, कर्णाली नदीमा जल पर्यटनका निम्ति अध्ययन अनुसन्धान गर्ने सोच बनाएको छु ।” उहाँले कर्णाली तथा भेरी करिडोरको विकास गर्न नितान्त आवश्यक रहेको र यसका निम्ति आफू पनि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले कर्णालीको जडीबुटी भनेर जताततै प्रचार हुने तर, जडीबुटीबाट यहाँका जनता लाभाम्वित नभएको बताउनुभयो । अर्थमन्त्री शाहले जडीबुटी प्रशोधन र विकासका लागि पहल कदमी चाल्नुपर्नेमा जोड दिनुभयो ।रासस