दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गत मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान निधन भएको थियो । आचार्यको निधन लगत्तै बुधबार नै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गर्नुभयो । दुवै घटनामा वित्तीय दबाब प्रमुख देखिएको थियो । मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकाङ्क सकारात्मक नरहेको अवस्थामा राज्य अलि बढी संवेदनशील बन्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले राज्यले सुधारका कदम तत्कालै उठाउनुपर्ने बताउनु भयो । सङ्घका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताउनु भयो । उहाँले आफूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधनतर्फ उन्मुख रहन जरूरी रहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सङ्घ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता सङ्घ संस्थासँग छलफल र परामर्श लिनुपर्ने बताउनु भयो ।रासस
