क्षमताभन्दा बढी बालबालिका र आवश्यक पूर्वाधारको अभावमा पर्साको वीरगञ्जस्थित मधेस प्रदेशको एकमात्र बालसुधार गृहमा समस्या भएको छ । न्यून भौतिक पूर्वाधार, बजेट अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरलाई कोचर राख्नुपर्ने बाध्यताका कारण प्रदेशको एकमात्र बालसुधार गृह समस्यामा परेको हो । साठी जनाको क्षमता भएको सुधारगृहमा एक सय २७ बालक तथा किशोरलाई कोचेर राखिएको छ । त्यहाँ रहेका बालक तथा किशोरमा स्वास्थ्य समस्या बल्झिनाका साथै व्यवस्थापन मिलाउनसमेत कठिन भइरहेको सुधारगृहका प्रमुख टीकाकृष्ण काफ्लेले जानकारी दिनुभयो । “क्षमताभन्दा बढी बालक र किशोरलाई कोचेर राख्नुपर्दा उनीहरुमा श्वासप्रवास, ज्वरो र छालासम्बन्धी रोगको सङ्क्रमण देखिन थालेको छ”, उहाँले भन्नुभयो, “चिसो मौसम भएकाले थोरै मात्र बालक र किशोरमा स्वास्थ्य समस्या देखिएको अब गर्मी सुरु भएलगत्तै सङ्क्रमण बढ्न थाल्छ तर उचारका लागि पहिलाझै अहिले पनि वार्षिक रु दुई लाख मात्र उपलब्ध भइरहेकाले खर्च पु¥याउन कठिन भइरहेको छ । ठाउँ अभावका कारण उक्त गृहमा बालबालिका उकुसमुकुसका सार्थ दैनिक जीवन यापन गर्न बाध्य छन् । एउटै कोठाभित्र धेरै जनालाई कोचर राख्नुपर्दा स्वास्थ्यलगायत समस्या भइरहेको गुनासो बढेको छ । धेरैजना कोचाकोच गरिबस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टापनर्स अन्जु कुमारीले बताउनुभयो ।रासस
